
महानगरपालिका मतगणना अपडेट : कहाँ कसको अग्रता ?
देशभरका ६ महानगरको मतगणना जारी छ । अधिकांश महानगरमा मतपरिणाम आउन सुरु भएको छ ।
काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरेका छन् । ३०० मत गणना हुँदा अहिलेसम्म बालेनले ९५ मत प्राप्त गरेका छन् । यस्तै, गठबन्धनका उम्मेदवार सिर्जना सिंहले ७६ मत प्राप्त गर्दा एमालेका उम्मेदवार केशव स्थापितले ४१ मत ल्याएका छन् ।
विराटनगर महानगरपालिकामा १२०० मत गणना हुँदा नेपाली कांग्रेसका नागेश कोइरालाले ४३४ मत ल्याएका छन् । नेकपा एमालेका सागर थापाले ३१७ मतसहित पछ्याइरहेका छन् । उपमेयरमा नेकपा एमालेका शिल्पा कार्कीले ३६५ मत ल्याएकी छन् । जनता समाजवादीका अमरेन्द्र यादवले २०६ मत ल्याएका छन् ।
ललितपुर महानगरको मत गणना जारी छ । मतगणनामा कांग्रेसले अग्रता लिएको छ । ललितपुर महानगरको प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार छन् ।
चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन् । समाचार तयार पार्दासम्म एमालेका विजय सुवेदी पहिलो र नेकपा माओवादी केन्द्रका रेनु दाहाल दोस्रो स्थानमा छन् । १५० मतगणना हुँदा विजयले ६६, रेनुले ५१ र कांग्रेसबाट असन्तुष्ट उम्मेदवार जगन्नाथ पौडेलले १३ मत ल्याएका छन् ।
वीरगंज महानगरमा भने अहिलेसम्म पनि मतगणना सुरु भएको छैन । सर्वदलीय सहमति नहुँदा वीरगन्ज महानगरपालिकामा मतगणना सुरु नभएको हो। वीरगन्जमा सांसद प्रदिप यादव मतदान स्थलभित्र छिर्दा तनावको स्थिति सृजना भएको छ। विरगंजमा एमालेको तर्फबाट विजयकुमार सरावगी, जनता समाजवादी पार्टीको तर्फबाट राजेशमान सिंहले उम्मेदवारी दिएका छन् ।
पोखरा महानगरमा केहिबेर अघिदेखि मतगणना सुरु भएपनि प्रारम्भिक नतिजा सार्वजनिक भएको छैन । पोखरामा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्य र एमालेको तर्फबाट कृष्णबहादुर थापाको उम्मेदवारी परेको छ ।